विश्वकपमा फ्रान्सको विजयी सुरुआत, सेनेगलमाथि ३–१ को जित

User Image Prime TV News ८ घण्टा अगाडि
Image of विश्वकपमा फ्रान्सको विजयी सुरुआत, सेनेगलमाथि ३–१ को जित

काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा फ्रान्सले विजयी सुरुआत गरेको छ।

मंगलबार राति अमेरिकाको न्यु जर्सीमा भएको खेलमा फ्रान्सले सेनेगल लाई ३–१ गोल अन्तरले पराजित गरेको हो। यससँगै फ्रान्सले २४ वर्षअघिको हारको हिसाब बराबर गरेको छ।

सन् २००२ को विश्वकप उद्घाटन खेलमा सेनेगलले तत्कालीन विश्वविजेता फ्रान्सलाई स्तब्ध बनाएको थियो। यसपटक भने फ्रान्सले खेल आफ्नो पक्षमा पार्दै सफल सुरुआत गर्‍यो।

फ्रान्सको जितमा किलियन एम्बाप्पे नायक बने। उनले खेलको ६६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने इन्जुरी समयमा दोस्रो व्यक्तिगत गोल थप्दै जित सुनिश्चित गरे।

फ्रान्सका लागि अर्को गोल ब्राडली बार्कोला ले ८२औँ मिनेटमा गरेका थिए। यता सेनेगलले अन्तिम समयमा सान्त्वना गोल फर्कायो। इन्जुरी समयको अन्त्यतिर इब्राहिम एमबाये ले गोल गर्दै अन्तर कम गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो जितसँगै फ्रान्सले समूह चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने सेनेगलले आगामी खेलमा पुनरागमनको चुनौती सामना गर्नेछ।