इरान–अमेरिका सहमतिपछि लेबनानमा तनाव, इजरायलमाथि युद्धविराम उल्लंघनको आरोप
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्य सहित सहमति अगाडि बढिरहेका बेला मध्यपूर्वमा नयाँ तनाव देखिएको छ।
इरानले इजरायलमाथि लेबनान क्षेत्रमा पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै यस्ता गतिविधि जारी रहे कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
यो प्रतिक्रिया दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएपछि आएको हो। इरानी पक्षले लेबनानमा भइरहेका सैन्य कारबाहीले क्षेत्रीय स्थायित्व र चलिरहेको कूटनीतिक प्रक्रियालाई असर पार्न सक्ने बताएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इजरायलको रणनीतिप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लाई लेबनानको विषयमा अझ जिम्मेवार बन्न आग्रह गरेका छन्।
फ्रान्समा भइरहेको जी–७ शिखर सम्मेलन २०२६ का क्रममा ट्रम्पले लडाकूलाई लक्ष्य बनाउने नाममा आवासीय भवनहरूमा आक्रमण गर्दा धेरै सर्वसाधारण प्रभावित हुने बताएका थिए। उनले हालका आक्रमणहरूले इरानसँग अघि बढिरहेको शान्ति प्रक्रियामा असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।
उता इजरायलले भने हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान सुरक्षा आवश्यकतासँग सम्बन्धित रहेको बताउँदै आएको छ। साथै इजरायली नेतृत्वले लेबनानमा आफ्नो सुरक्षा नीति जारी रहने संकेत दिएको छ।
हाल अमेरिकाको मध्यस्थतामा अगाडि बढिरहेको सहमति र लेबनानको अवस्थाले आगामी दिनमा क्षेत्रीय राजनीति कुन दिशातर्फ जान्छ भन्नेमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित भएको छ ।







