अध्ययन बिदापछि सेवामा नफर्किने शिक्षक–कर्मचारीविरुद्ध त्रिवि कडा

User Image Prime TV News ६ घण्टा अगाडि
Image of अध्ययन बिदापछि सेवामा नफर्किने शिक्षक–कर्मचारीविरुद्ध त्रिवि कडा

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा पूरा गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।

समितिले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए सम्बन्धित व्यक्तिविरुद्ध विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले यो प्रक्रिया शिक्षा मन्त्रालयको पहल तथा विश्वविद्यालयको सक्रियतामा अघि बढाइएको जनाएको छ।

विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले उपलब्ध गराइने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकहरूले अध्ययन सम्पन्न गरेपछि सम्झौताअनुसार विश्वविद्यालयमा सेवा नगरेका कारण संस्थालाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।

त्रिविले अध्ययन बिदा उपयोग गर्ने शिक्षक तथा कर्मचारीलाई सम्झौताअनुसारको दायित्व पूरा गर्न र विश्वविद्यालयप्रति उत्तरदायी बन्न आग्रह गरेको छ। विश्वविद्यालयले अध्ययन बिदा व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।