नेपाल टेलिभिजनका खरिद प्रक्रिया छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

User Image Prime TV News ५ घण्टा अगाडि
Image of नेपाल टेलिभिजनका खरिद प्रक्रिया छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभजनद्वारा विभिन्न समयमा गरिएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन तथा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाटडा सुदीप भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।

समितिले नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्नेछ। यी खरिद प्रक्रियासम्बन्धी विभिन्न निकायमा उजुरी तथा गुनासा दर्ता भएपछि मन्त्रालयले आन्तरिक जानकारी र मूल्याङ्कनका लागि छानबिन समिति गठन गरेको जनाएको छ।

नेपाल टेलिभिजनमा पछिल्ला वर्षहरूमा प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि गरिएका विभिन्न खरिद प्रक्रियामा पारदर्शिता, प्रतिस्पर्धा र कानुनी प्रक्रिया पालना भएको वा नभएको विषयमा प्रश्न उठ्दै आएका छन्। सोही सन्दर्भमा मन्त्रालयले आवश्यक अध्ययन र तथ्य सङ्कलनका लागि समिति गठन गरेको हो।

यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थासँग सम्बन्धित स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको थियो। मन्त्रालयले यस पटकको अध्ययन प्रतिवेदनका आधारमा आवश्यक नीतिगत तथा प्रशासनिक निर्णय लिइने जनाएको छ।