सभामुखको निष्पक्षतामाथि कांग्रेस सांसद यादवको प्रश्न, रास्वपाको आपत्ति
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले सभामुख डिपी अर्यालको भूमिकामाथि प्रश्न उठाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद चन्द्रमोहन यादवले सभामुखको राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्ध पूर्ण रूपमा विच्छेद नभएको आरोप लगाए। सभामुखले सदनको अभिभावकका रूपमा सबै दलप्रति समान व्यवहार गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको उनको भनाइ थियो।
यादवले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अनावश्यक रूपमा विवादित बनाइएको टिप्पणी गर्दै उक्त अभिव्यक्तिलाई समर्थन गर्दै रास्वपाका सांसदहरूले सामूहिक रूपमा टेबल थपथपाएको विषयमा पनि आपत्ति जनाए।
उनको अभिव्यक्तिपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए। कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख) उल्लेख गर्दै विशेष प्रस्ताव वा छलफलको निश्चित प्रक्रियाबाहेक सभामुखको आचरणमाथि प्रत्यक्ष टिप्पणी गर्न नपाइने व्यवस्था रहेको बताए।
उनले सभामुखप्रति गरिएको टिप्पणी संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे। संसदीय अभ्यास र विधिको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले आरोप–प्रत्यारोपले सदनको गरिमा घटाउने बताए।
विवादपछि सभामुख अर्यालले सांसद यादवको ध्यान प्रतिनिधिसभा नियमावलीको दफा २१ तर्फाकर्षित गराउँदै संसदीय प्रक्रियाअनुसार अभिव्यक्ति दिन आग्रह गरेका थिए। घटनाले संसद् बैठकमा केहीबेर बहस र विवादको स्थिति सिर्जना गरेको थियो।







