अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै देउवा दम्पतीको आग्रह
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाले सम्पत्ति सम्बन्धी अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार रहेको जनाउँदै पक्राउ पूर्जी जारी नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त रूपमा पत्र पठाउँदै उपचारका लागि विदेशमा रहेको र दुई महिनाभित्र नेपाल फर्किने जानकारी दिएका हुन्। उनीहरूले आफूहरू अनुसन्धानबाट भाग्न खोजेको वा उपस्थित नभएको भन्ने धारणा निर्माण गरी पक्राउ पूर्जी जारी गरिए नेपाल फर्कन कठिन अवस्था सिर्जना हुन सक्ने बताएका छन्।
पत्रमा आफूहरू अनुसन्धानमा पूर्ण सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्दै नेपाल फर्किएपछि विभागसमक्ष उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आफूहरू सार्वजनिक जीवनमा लामो समयदेखि सक्रिय रहेकाले कानुनी प्रक्रिया र विधिको सम्मान गर्दै अघि बढ्ने पनि बताएका छन्।
देउवा दम्पतीले आफ्नो सम्पत्तिबारे नियमित रूपमा विवरण बुझाउँदै आएको दाबी गर्दै सम्पत्ति सम्बन्धी विषयमा आवश्यक अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत हुन सक्ने तर्क गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको विषयमा समेत उनीहरूले प्रश्न उठाएका छन्।
पत्रमा जेनजी आन्दोलनपछिको घटनाक्रम, निवासमा भएको आक्रमण र त्यसपछिको अनुसन्धानको सन्दर्भ उल्लेख गर्दै नगद तथा बहुमूल्य सामग्री नष्ट भएको भन्ने दाबी विभागीय अनुसन्धानबाट पुष्टि नभएको जिकिर गरिएको छ। यस्तो अवस्थामा आफूहरूलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने आधार नरहेको उनीहरूको भनाइ छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर कानुनी व्यवस्थामा भएको परिवर्तनपछि यस्ता मुद्दाको क्षेत्राधिकार विशेष अदालतमा सरेको भन्दै सर्वोच्च अदालतले जारी पक्राउ पूर्जी कार्यान्वयनमा रोक लगाएको थियो।
सर्वोच्च अदालतले कानुनअनुसार प्रक्रिया पूरा गरेर मात्र पक्राउ गर्न सकिने उल्लेख गर्दै तत्कालीन पक्राउ आदेशमाथि प्रश्न उठाएको थियो। यद्यपि आवश्यक परे विशेष अदालतमार्फत पुनः पक्राउ अनुमति लिन सकिने कानुनी व्यवस्था भने कायम रहेको छ।
यसैबीच देउवा दम्पतीले आफूहरू फरार नभएको, उपचारका क्रममा विदेशमा रहेको र दुई महिनाभित्र नेपाल फर्केर अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।







