श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

User Image Prime TV News ३ घण्टा अगाडि
Image of श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौ । श्रम संस्कृति पार्टीका सांसदहरूको निरन्तर विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी रहेको बेला सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।

तर, सभामुख डोलप्रसाद अर्यालले नियमअनुसार प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै उनलाई बोल्न अनुमति दिएनन्। त्यसपछि श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै संसद्को वेल घेराउ गरेका थिए।

विरोध जारी रहेपछि सभामुख अर्यालले सांसदहरूलाई संसदीय मर्यादा र नियमको पालना गर्न सचेत गराएका थिए। उनले सभामुखको आदेशको पालना गर्नु सबै सांसदहरूको कर्तव्य भएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो आसनमा फर्किन पटकपटक आग्रह गरेका थिए।

सभामुखको आग्रहका बाबजुद विरोध नरोकिएपछि बैठक सञ्चालन गर्न कठिन भएको भन्दै उनले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरे।