सहकारी पीडितलाई राहत : जेठमा १ करोड २० लाख कर्जा असुली, ५९ लाख बचत फिर्ता

User Image Prime TV News ४ घण्टा अगाडि
Image of सहकारी पीडितलाई राहत : जेठमा १ करोड २० लाख कर्जा असुली, ५९ लाख बचत फिर्ता

काठमाडौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता कार्यलाई तीव्रता दिँदै विभिन्न सहकारीका पीडित बचतकर्तालाई रकम फिर्ता गरेको छ।

समितिका अनुसार जेठ २०८३ मा १२ सहकारीका ऋणीहरूबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा असुली गरिएको छ। सोही अवधिमा असुली भएको रकमबाट साना बचतकर्तालाई प्राथमिकता दिँदै ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता गरिएको हो।

समितिले १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४५२ बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ। साथै १२ सहकारीका १२२ बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको छ।

समितिका अनुसार बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०८३ स्वीकृत भइसकेको छ। सोही आधारमा समस्याग्रस्त सहकारी संस्था पुनःसंरचना तथा व्यवस्थापन कार्यविधि लागू गर्दै काम अघि बढाइएको छ।

कार्यविधिअनुसार सहकारी व्यवस्थापनका लागि सार्वजनिक सूचना जारी गरिएको छ भने संस्थागत पुनर्संरचनाका लागि कर्मचारीको नयाँ संगठनात्मक संरचना स्वीकृत गरी जिम्मेवारी पुनःवितरण गरिएको छ।

समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको पहिचान, सम्पत्ति रोक्का, तीन पुस्ते विवरण संकलन तथा सार्वजनिक गर्ने कार्यलाई नियमित रूपमा अघि बढाइरहेको जनाएको छ। हाल करिब ४४ हजार बचतकर्ताका मागदाबी निवेदनहरूको चरणबद्ध प्रमाणीकरण भइरहेको छ।

१० हजारभन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको फिर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। बाँकी सहकारीमा मागदाबी प्रमाणीकरण तथा रकम फिर्ता प्रक्रिया जारी रहेको समितिले जनाएको छ।

त्यसैगरी केही सहकारीमा तेस्रो पक्षमार्फत फिर्ता प्रक्रिया अघि बढाइएको छ भने अन्यका कागजात रुजु तथा संशोधनका लागि छुट्टै सहायता कक्ष सञ्चालनमा छ। समितिले बचत अपचलनमा संलग्न सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वसञ्चालकहरूको सम्पत्ति खोजीका लागि रणनीतिक टोली परिचालन गरिएको पनि जनाएको छ।