रास्वपाको पहिलो महाधिवेशन तयारी तीव्र, प्रतिनिधि शुल्क तय
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी पहिलो महाधिवेशनका लागि प्रतिनिधि तथा पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीले प्रतिनिधिका लागि ५ हजार रुपैयाँ र पर्यवेक्षकका लागि ७ हजार रुपैयाँ शुल्क तय गरेको हो।
पार्टीले आर्थिक रूपमा विपन्न सदस्यहरूका लागि सहायता कोष सञ्चालन गर्ने जानकारी पनि दिएको छ। रास्वपाको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।
पार्टी गठन भएको चार वर्ष पुगेकै दिन महाधिवेशन सुरु गर्ने योजना अनुसार तयारी अघि बढाइएको बताइएको छ। महाधिवेशन व्यवस्थापनका लागि मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरिएको र विभिन्न संगठनात्मक तथा प्राविधिक तयारीलाई तीव्र पारिएको पार्टीले जनाएको छ।
आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व, नीति तथा संगठनात्मक संरचना औपचारिक रूपमा तय हुने अपेक्षा गरिएको छ।







