अमेरिका–इरानबीच १४ बुँदे युद्धविराम सम्झौता, शुक्रबार औपचारिक हस्ताक्षर हुने
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अमेरिका र इरानबीच लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १४ बुँदे युद्धविराम तथा समझदारीपत्रमा सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको संवादमा सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेपछि यसको विवरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत बाहिर आएको हो।
सम्झौताअनुसार अमेरिका र इरानले प्रारम्भिक समझदारीपत्रमा डिजिटल हस्ताक्षर गरिसकेका छन् भने औपचारिक हस्ताक्षर समारोह शुक्रबार स्विट्जरल्यान्डमा हुने तयारी गरिएको छ। यद्यपि, दुवै देशले सम्झौताको पूर्ण पाठ भने अझै सार्वजनिक गरेका छैनन्।
समझदारीपत्रले अमेरिका–इरानबीचका सैन्य गतिविधि मात्र होइन, लेबनानसहित क्षेत्रीय मोर्चाहरूमा जारी लडाइँ रोक्ने व्यवस्था पनि गरेको बताइएको छ। यससँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी चरणबद्ध रूपमा हटाउने र इरानले होर्मुज जलडमरूमध्यमार्फत अन्तर्राष्ट्रिय जहाज आवागमन पुनः सञ्चालन गर्न सहयोग गर्ने सहमति भएको छ।
प्रारम्भिक १४ बुँदे समझदारीमा इरानको आणविक कार्यक्रम, अमेरिकी आर्थिक प्रतिबन्ध हटाउने प्रक्रिया, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषय तथा कम्तीमा ३०० अर्ब डलरको पुनर्निर्माण तथा आर्थिक सहयोग योजनाबारे थप वार्ता गर्ने उल्लेख छ। इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता दोहोर्याएको छ भने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानी स्वीकार गर्ने संकेत दिएको छ।
सम्झौताले आगामी ६० दिनभित्र विस्तृत शान्ति सम्झौता तयार गर्ने मार्ग प्रशस्त गरेको छ। यस अवधिमा दुवै पक्षले प्रतिबन्ध, सुरक्षा व्यवस्था, आणविक कार्यक्रम र क्षेत्रीय स्थायित्वका विषयमा थप वार्ता गर्नेछन्।
युद्धविरामप्रति इजरायलको असन्तुष्टि रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इजरायल सम्झौताको प्रत्यक्ष पक्ष नरहे पनि युद्धको अग्रमोर्चामा रहेको कारण यसको प्रभाव क्षेत्रीय सुरक्षामा महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा होर्मुज जलडमरूमध्य पुनः खुल्ने, विश्व ऊर्जा बजारमा स्थिरता आउने तथा मध्यपूर्वमा बढ्दो तनाव कम हुने अपेक्षा गरिएको छ।







