सरकारले कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित गर्दैन : मन्त्री पोखरेल
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित हुन नदिने बताएका छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले न्यून विद्यार्थी भएका विद्यालय गाभ्ने विषयमा आएको सुझावप्रति सरकारको धारणा स्पष्ट पारे। मन्त्री पोखरेलका अनुसार विद्यालयलाई न्यून विद्यार्थी संख्याका आधारमा मात्रै गाभ्ने वा तह घटाउने निर्णय गर्दा कुनै पनि विद्यार्थी शिक्षा पहुँचबाट टाढा नपरोस् भन्नेमा सरकार संवेदनशील छ।
संसदमा सांसदहरूले भौगोलिक दूरी, विद्यार्थी संख्या तथा स्रोत व्यवस्थापनका आधारमा विद्यालय समायोजन गर्नुपर्ने सुझाव दिएका थिए। तर मन्त्री पोखरेलले यस्तो समायोजन गर्दा विद्यार्थीको शैक्षिक अधिकार सुरक्षित रहने गरी मात्र निर्णय लिइने बताए।
उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूको भौतिक अवस्था अध्ययन गरिने र विद्यार्थी संख्याका आधारमा विस्तृत सर्वेक्षण प्रतिवेदन तयार पारिने जानकारी दिए। त्यही प्रतिवेदनका आधारमा विद्यालय समायोजन तथा बजेट व्यवस्थापनसम्बन्धी निर्णय गरिने सरकारको योजना रहेको उनले स्पष्ट पारे।







