स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट अलगिने महराको घोषणा

User Image Prime TV News एक घण्टा अगाडि
Image of स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट अलगिने महराको घोषणा

काठमाडौ । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेका छन्।

बिहीबार जारी वक्तव्यमा महराले आफू विगत केही वर्षदेखि एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिएका छन्। उक्त रोगका कारण शरीरका नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्या रहेको र नियमित उपचार, थेरापी तथा औषधि सेवन गर्दागर्दै पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको उनले उल्लेख गरेका छन्।

स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि तथा जिम्मेवारीमा विगतजस्तै सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न कठिन बन्दै गएको निष्कर्षसहित उनले सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

महराले आफ्नो वक्तव्यमा करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र राजनीतिक परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको स्मरण गरेका छन्। उनले आफ्नो जीवनको महत्वपूर्ण समय पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गरेका छन्।

उनले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको स्पष्ट पारेका छन्। महराको यो घोषणासँगै लामो समयदेखि नेपाली वाम राजनीतिमा सक्रिय रहँदै आएका एक अनुभवी नेताले स्वास्थ्यका कारण अग्रपंक्तिको राजनीतिक भूमिकाबाट विश्राम लिने निर्णय गरेका छन्।