ओली–प्रचण्डबीच कार्यगत एकताको प्रस्ताव, वाम राजनीतिमा नयाँ तरंग
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः सहकार्यको प्रस्ताव अघि सारेका छन्। उनले नेकपाका संयोजक पुष्पकमल दाहाल सँग भेट गरेर तत्काल पार्टी एकता सम्भव नभए कार्यगत एकता गरेर अघि बढ्न सकिने प्रस्ताव राखेको स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार जेठ ३१ गते प्रचण्ड निवासमा भएको भेटमा ओलीले आगामी निर्वाचनसम्मका लागि कम्तीमा कार्यगत एकता गरेर संगठनात्मक समन्वय र राजनीतिक सहकार्य बढाउनुपर्ने धारणा राखेका थिए। २१ फागुनको निर्वाचनयता दुई नेताबीच भएका पछिल्ला भेटवार्तामा पनि वाम एकता र सहकार्यको विषय प्रमुख एजेन्डाका रूपमा उठेको बताइएको छ।
ओलीले विगतको पार्टी एकतामा हतार गर्दा संगठनमा अविश्वास र अन्तरघुलनको समस्या देखिएको उल्लेख गर्दै यसपटक चरणबद्ध रूपमा अघि बढ्नुपर्ने तर्क राखेका छन्। उनका अनुसार कार्यगत एकताले दुवै दलका संगठनबीच समन्वय बढाउनुका साथै विभिन्न संघ–संस्थामा राजनीतिक प्रभाव बलियो बनाउन सहयोग पुग्नेछ।
राजनीतिक वृत्तमा एमालेभित्र नेतृत्व र पुनर्गठनको बहस चर्किरहेका बेला ओलीले कार्यगत एकताको प्रस्ताव अघि सारेको चर्चा पनि भइरहेको छ। पार्टीभित्र वैकल्पिक नेतृत्वको बहस बढिरहेका सन्दर्भमा वाम एकताको सन्देशले संगठनभित्रको दबाब कम गर्न सक्ने आँकलन गरिएको छ।
यता प्रचण्ड कार्यगत एकता वा पार्टी एकताको अवधारणाप्रति नकारात्मक नभए पनि नेकपाभित्र विद्यमान आन्तरिक असन्तुष्टि र संगठनात्मक चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट निष्कर्षमा पुग्न नसकेको स्रोतहरूको भनाइ छ।
पार्टीभित्र झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल तथा वामदेव गौतम लगायत नेताहरूबीच देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने चुनौती प्रचण्डसामु रहेको बताइन्छ। यसबीच, सम्भावित वाम सहकार्य वा नयाँ राजनीतिक संरचनामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वको भूमिकामा ल्याउने विषयमा पनि अनौपचारिक छलफल भएको दाबी गरिएको छ। यद्यपि यसबारे कुनै पक्षबाट औपचारिक पुष्टि भएको छैन।
दुवै नेताबीच संवाद जारी रहे पनि कार्यगत एकता वा पार्टी एकतासम्बन्धी कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार आगामी दिनमा हुने छलफल र दुवै पार्टीभित्रको आन्तरिक समीकरणले वाम सहकार्यको दिशा निर्धारण गर्नेछ।







