रास्वपाले बढायो पदाधिकारी र केन्द्रीय समितिको आकार, वरिष्ठ नेताको पद थपिने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of रास्वपाले बढायो पदाधिकारी र केन्द्रीय समितिको आकार, वरिष्ठ नेताको पद थपिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको संगठनात्मक संरचना विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधनमार्फत पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउने निर्णय गरेको हो।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीको संख्या १३ बाट बढाएर १९ पुर्‍याउने निर्णय गरेको छ। संशोधित व्यवस्थाअनुसार अब पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, एक महिला अनिवार्यसहित तीन उपसभापति, दुई महामन्त्री, महिला अनिवार्यसहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिला अनिवार्यसहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिला अनिवार्यसहित दुई सहकोषाध्यक्ष रहनेछन्।

रास्वपाले पहिलो पटक विधानमा ‘वरिष्ठ नेता’ पदको व्यवस्था गर्न लागेको हो। यसअघि पार्टी संरचनामा यस्तो पद समावेश थिएन। त्यस्तै, केन्द्रीय समितिको आकार पनि विस्तार गरिने भएको छ। हाल १२९ सदस्यीय रहेको केन्द्रीय समिति बढाएर १५८ सदस्यीय बनाउने निर्णय गरिएको छ। प्रदेश समिति सभापतिहरूलाई पदेन केन्द्रीय सदस्य बनाइने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

पार्टीले महामन्त्रीको संख्या एकबाट दुई र सहमहामन्त्रीको संख्या तीनबाट पाँच पुर्‍याउने निर्णय गरेको छ। विधान संशोधनको मस्यौदा सहमहामन्त्री विपीनकुमार आचार्यको संयोजकत्वमा गठित समितिले तयार पारेको थियो। समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाशचन्द्र परियार र सुशान्त वैद्धिक सदस्य रहेका थिए।

रास्वपाको राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवन मा हुँदैछ। सचिवालय बैठकले महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक संरचना पुनर्गठनका यी निर्णयहरू गरेको जनाएको छ।