राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, सहभागिताकै विषयमा पार्टीभित्र विवाद
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।
बैठक सुरु हुनुअघि नै पार्टीभित्र मतभेद देखिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टीको असन्तुष्ट समूहले बैठक बहिष्कार गर्ने संकेत दिएको छ।
विवादको मुख्य कारण गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका सबैलाई बैठकमा बोलाउने तयारी र एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका करिब ६५ जनालाई सहभागी गराउने विषय बनेको छ।
असन्तुष्ट नेताहरूले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यबाहेक अन्यलाई सहभागी गराउनु पार्टीको स्थापित पद्धति र विधानअनुकूल नहुने बताएका छन्।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही तथा पूर्व अध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। उनीहरूले केन्द्रीय सदस्यबाहेक अरूलाई बैठकमा सहभागी नगराउन आग्रह गरेका थिए।
केन्द्रीय सदस्य जनकराज पाठकले पनि आफूहरूसहित विधिको पक्षमा रहेका नेताहरू बैठकमा सहभागी नहुने बताएका छन्। उनका अनुसार अनधिकृत रूपमा व्यक्तिहरूलाई प्रवेश गराउने प्रयास भएपछि सहभागिताको वातावरण नरहेको हो।
पार्टीभित्रका केही नेताहरूले अध्यक्ष लिङ्देनले आफ्नो आलोचना कम गर्न र आन्तरिक समर्थन देखाउन अतिरिक्त व्यक्तिहरूलाई सहभागी गराउने रणनीति अपनाएको आरोप लगाएका छन्। पछिल्लो निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाही बाहेक अधिकांश उम्मेदवारले अपेक्षित नतिजा ल्याउन नसकेको सन्दर्भ पनि विवादमा जोडिएको छ।
यता कार्यसम्पादन समितिले आगामी महाधिवेशनको कार्यतालिका भने पारित गरेको छ। निर्णयअनुसार राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना हुनेछ। बैठकले निर्वाचनसम्बन्धी नियमावली र निर्देशिकालाई परिमार्जनसहित अनुमोदन गरेको अध्यक्ष लिङ्देनले बताएका छन्।
महामन्त्री धवलशमशेर राणा को पार्टीबाट बाहिरिएपछि राप्रपाभित्र देखिएको आन्तरिक तनाव अझै समाधान हुन नसकेको अवस्थामा यो बैठक हुन लागेको हो।







