अमेरिका–इरान सम्झौतापछि नौसैनिक नाकाबन्दी हटाइयो, होर्मुज मार्ग खुल्ने प्रक्रिया सुरु
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । संयुक्त राज्य अमेरिका र इरान बीच भएको नयाँ अन्तरिम सम्झौतापछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गरेको छ।
सम्झौता हस्ताक्षरपछि अमेरिकी प्रशासनले उक्त निर्णय कार्यान्वयनमा लगेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अब इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट फर्कने व्यावसायिक जहाजमाथिको रोक क्रमशः हटाइनेछ।
यद्यपि क्षेत्रको सुरक्षा र सम्झौताको कार्यान्वयन निगरानी गर्न अमेरिकी युद्धपोतहरू सम्बन्धित समुद्री क्षेत्रमा केही समय रहने जनाइएको छ।
सम्झौतामा मध्यस्थकर्ताको भूमिका पाकिस्तान ले खेलेको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ ले सहमति तत्काल प्रभावबाट लागू हुने बताएका छन्। पहिलो चरणअन्तर्गत इरानले होर्मुज जलडमरूमध्य हुँदै व्यावसायिक जहाजको आवतजावत पुनः खुला गर्ने र अमेरिकाले नाकाबन्दी हटाउने सहमति भएको उल्लेख गरिएको छ।
यो सहमतिलाई क्षेत्रीय तनाव कम गर्ने र विश्व ऊर्जा तथा व्यापार आपूर्ति शृङ्खलालाई सहज बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। तर यो अन्तिम स्थायी सम्झौता नभई आगामी करिब ६० दिनभित्र थप वार्ताबाट विस्तृत सहमति तयार गर्ने ढाँचा पनि समेटिएको बताइएको छ ।






