मेक्सिको विश्वकपको नकआउट चरणमा, दक्षिण कोरियामाथि न्यून अन्तरको जित

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मेक्सिको विश्वकपको नकआउट चरणमा, दक्षिण कोरियामाथि न्यून अन्तरको जित

काठमाडौ । मेक्सिको फिफा विश्वकप–२०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।

शुक्रबार बिहान समूह ‘ए’ अन्तर्गत भएको खेलमा मेक्सिकोले दक्षिण कोरिया लाई १–० ले पराजित गर्दै एक खेल बाँकी रहँदै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

ग्वाडलाजारामा भएको प्रतिस्पर्धात्मक खेलमा मेक्सिकोका मिडफिल्डर लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। दक्षिण कोरियाली रक्षापङ्क्ति र गोलरक्षकबीचको समन्वय कमजोरीको फाइदा उठाउँदै रोमोले टोलीलाई अग्रता दिलाएका थिए।

खेलमा बल नियन्त्रण र पास सफलताको दरमा दक्षिण कोरिया केही अगाडि देखिए पनि त्यसलाई गोलमा बदल्न सकेन। अन्तिम समयमा दक्षिण कोरियाले बराबरीको अवसर सिर्जना गरे पनि मेक्सिकोका गोलरक्षक राउल रान्गेलले महत्वपूर्ण बचाउ गर्दै टोलीको जित सुरक्षित बनाए।

यो जितसँगै मेक्सिकोले लगातार दोस्रो जित निकालेर ६ अंक बनाएको छ। दक्षिण कोरियाको ३ अंक रहेकाले उसको नकआउट चरणको सम्भावना भने अझै कायम छ। समूहमा रहेका चेक गणतन्त्र र दक्षिण अफ्रिकाको सम्भावना पनि जीवित रहेको छ।

सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको मेक्सिको यसपटक घरेलु समर्थकमाझ बलियो पुनरागमन गर्ने लक्ष्यमा देखिएको छ। ४८ टोली सहभागी यो विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो स्थानका ८ टोलीले पनि राउन्ड अफ ३२ मा स्थान बनाउने व्यवस्था रहेको छ।