रास्वपाको पहिलो महाधिवेशन : सभापतिमा सहमति, अन्य पदमा प्रतिस्पर्धाको सम्भावना
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टी नेतृत्व कसरी चयन हुन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ।
सत्तारुढ दलका रूपमा रहेको र पहिलो महाधिवेशन हुन लागेकाले यसको राजनीतिक महत्त्व अझ बढेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीले पछिल्लो निर्वाचनमा उल्लेखनीय सफलता पाएपछि उनको भूमिकालाई लिएर पनि चर्चा बढेको छ।
पार्टी स्थापना गर्ने नेतृत्वकर्ता भएकाले पनि सभापति पदमा उनको निरन्तरता रहने सम्भावना बलियो रूपमा हेरिएको छ। पार्टीका केही नेताहरूका अनुसार सभापति पदमा चुनाव हुने सम्भावना कम देखिएको छ।
उनीहरूको भनाइमा सभापति चयन सहमतिमै हुन सक्छ भने अन्य पदमा भने निर्वाचन हुन सक्ने सम्भावना छ। नेताहरूले महाधिवेशनलाई शक्ति प्रदर्शनभन्दा संगठन विस्तार र आन्तरिक एकताको सन्देश दिने अवसरका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।
यसै सन्दर्भमा सभापति लामिछानेले सचिवालय बैठकमा पहिलो महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउने प्रस्ताव अघि सारेका थिए। पार्टीभित्र विभिन्न समूह र पृष्ठभूमिबाट आएका नेताहरूलाई समेटेर केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको नेताहरूको भनाइ छ।
त्यसैले नेतृत्व चयनमा सहमति र सन्तुलन खोज्ने प्रयास भइरहेको बताइएको छ। रास्वपाले आगामी महाधिवेशनमार्फत संगठनात्मक संरचना थप स्पष्ट बनाउने र पार्टीभित्र नेतृत्व हस्तान्तरण तथा प्रतिस्पर्धाको अभ्यास कसरी अघि बढाउने भन्ने पनि तय गर्ने अपेक्षा गरिएको छ।






