कक्षा १२ को नतिजा सार्वजनिक: नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना नन-ग्रेडेड भएका छन्। जीपीएका आधारमा हेर्दा ३.६१ देखि ४.०० सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ।
त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना तथा २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना विद्यार्थी ग्रेडेड भएका छन्। त्यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार ३०८ रहेको छ भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ९ जना मात्र रहेको बोर्डले जनाएको छ।
आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३६ हजार ४२० जना ग्रेडेड भएका छन्। आंशिकतर्फ ग्रेडेड प्रतिशत ४२.३८ रहेको छ। नियमित र आंशिक दुवैतर्फका परीक्षार्थी जोड्दा कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ६८ हजार १९० जना ग्रेडेड भएका छन्। यस आधारमा समग्र ग्रेडेड प्रतिशत ६४.१३ पुगेको छ।
बोर्डले नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी कुल ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको पनि जनाएको छ। यस वर्षको नतिजामा अधिकांश विद्यार्थी २.८१ देखि ३.२० जीपीए समूहमा केन्द्रित देखिएका छन्, जसले मध्यम स्तरको शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्या उच्च रहेको देखाएको छ ।






