अमेरिका–इरान प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । अमेरिका र इरानबीच हालैको युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र कार्यान्वयनका विषयमा स्विट्जरल्यान्डमा शुक्रबार हुने तय भएको प्रत्यक्ष वार्ता अन्तिम समयमा स्थगित भएको छ।
स्विट्जरल्यान्डको विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा रिसोर्ट क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको अमेरिका–इरान वार्ता हाललाई नहुने जनाएको छ। अमेरिकी उपराष्ट्रपतिले इरानी प्रतिनिधिमण्डलसँगको भेटका लागि तय गरिएको भ्रमण स्थगित गरेपछि वार्ता पनि रोकिएको बताइएको छ।
यसअघि दुवै देशबीच भएको युद्ध अन्त्यसम्बन्धी समझदारीलाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार वा शनिबारदेखि प्राविधिक स्तरको प्रत्यक्ष वार्ता सुरु हुने अपेक्षा गरिएको थियो। तर अन्तिम तयारी पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरिएको हो।
ह्वाइट हाउसले भ्रमण स्थगित हुनुको कारण लजिस्टिक व्यवस्थापन रहेको जनाएको छ। उपराष्ट्रपति भान्सले पनि पत्रकार सम्मेलनमा वार्ताको अन्तिम तयारी अझै पूरा नभएको र यात्रा व्यवस्थापनमा केही प्राविधिक चुनौती देखिएको बताएका थिए।
यद्यपि अमेरिकी तथा क्षेत्रीय कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न संचार माध्यमहरुले लेबनन क्षेत्रमा युद्धविराम भए पनि तनाव कायम रहेकाले वार्ताको समयतालिकामा असर परेको उल्लेख गरेको छ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा अमेरिकी प्रतिनिधिमण्डल पहिलो उपलब्ध अवसरमै वार्ताका लागि तयार रहेको जनाउँदै यस्ता संवेदनशील कूटनीतिक भेटघाटको व्यवस्थापन प्रक्रिया जटिल र कहिलेकाहीँ अप्रत्याशित हुने बताएको छ। साथै सकेसम्म चाँडो प्राविधिक वार्ता सुरु हुने अपेक्षा पनि व्यक्त गरिएको छ।
वार्ता स्थगित हुनुअघि इरानका सर्वोच्च नेताले अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताका लागि इरानी वार्ताकारहरूलाई अनुमति दिएका थिए। तर उनले त्यसलाई इरानले आफ्नो अडान त्यागेको वा अमेरिकी धारणा स्वीकार गरेको रूपमा व्याख्या नगर्न चेतावनी दिएका थिए।
युद्धपछिको सम्बन्ध सामान्यीकरण र समझदारी कार्यान्वयनतर्फको महत्वपूर्ण कदम मानिएको यो वार्ता स्थगित भएपछि अब नयाँ मिति कहिले तय हुन्छ भन्ने विषयमा कूटनीतिक चासो बढेको छ।






