प्रतिनिधिसभामा विपक्षीको विरोध जारी, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्।
सभामुख डिपी अर्यालले बैठकको कार्यसूची अघि बढाउनासाथ विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने तथा संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग दोहोर्याएका छन्।
उनीहरूको भनाइमा उक्त अभिव्यक्तिले राष्ट्रिय हित र नेपालको आधिकारिक धारणासँग मेल नखाने भएकाले त्यसलाई संसदीय अभिलेखमा राख्न नहुने अवस्था रहेको छ। यही विषयलाई लिएर विपक्षी दलहरूले केही दिनयता संसद् बैठकमा निरन्तर अवरोध र विरोध गर्दै आएका छन्।
विरोधका बीच सभामुखले दलहरूबीच सहमति खोज्ने प्रयास गरिरहेका छन्। यद्यपि समाचार तयार पार्दासम्म उक्त विषयमा सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति जुट्न सकेको छैन। संसद्को गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलहरूबीच छलफल जारी रहे पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट धारणा र आवश्यक कदम नचालिएसम्म विरोध जारी रहने विपक्षी दलहरूको अडान रहेको छ।






