‘आई एम जितबहादुर’ देशभर प्रदर्शनमा

User Image Prime TV News २ घण्टा अगाडि
Image of ‘आई एम जितबहादुर’ देशभर प्रदर्शनमा

काठमाडौ । अभिनेता तथा हास्यकलाकार जितु नेपाल (मुन्द्रे) को लगानी रहेको नेपाली चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। यस साता प्रदर्शनमा आएको यो एकमात्र नेपाली चलचित्र हो।

ड्रामा विधामा निर्माण गरिएको चलचित्रले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको एक युवक जितबहादुरको जीवनकथा प्रस्तुत गरेको छ। अभिनयप्रति गहिरो रुचि राख्ने जितबहादुरका लागि नाटक र अभिनय केवल मनोरञ्जनको माध्यम मात्र नभई जीवनकै ठूलो सपना बनेको हुन्छ। आफ्नो सपना पूरा गर्न उसले भोग्ने संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रमा चित्रण गरिएको छ।

चलचित्रमा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा र राजन सिम्खडालगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्देशन सुभेन्दु घोषले गरेका हुन्।

१३३ मिनेट लामो चलचित्रका निर्माता जितु नेपाल स्वयं हुन् भने सहनिर्मातामा राजन सिम्खडा र दीपेन्द्र अधिकारी रहेका छन्। निश्चल कुँवर र निरज नेपालले कार्यकारी निर्माताका रूपमा काम गरेका छन्। चलचित्र प्रदर्शनसँगै निर्माण पक्षले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरेको छ। चलचित्रले ग्रामीण परिवेश, सपना र संघर्षको कथालाई भावनात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टोलीको भनाइ छ।

यसैबीच, नेपाली चलचित्र ‘आई एम जितबहादुर’सँगै विदेशी चलचित्रहरू पनि प्रदर्शनमा आएका छन्। भारतीय अभिनेता शाहिद कपूर अभिनीत ‘ककटेल २’, दक्षिण कोरियाली चलचित्र ‘कोलोनी’ तथा हलिउडको चर्चित एनिमेसन श्रृंखलाको नयाँ संस्करण ‘टोय स्टोरी ५’ पनि नेपाली सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ।

लामो समयदेखि हास्य भूमिकामार्फत दर्शकमाझ लोकप्रिय रहेका जितु नेपालका लागि यो चलचित्र अभिनयसँगै निर्माण क्षेत्रको महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ।