राष्ट्रिय चलचित्र पुरस्कार २०८२: ‘ऊनको स्विटर’ उत्कृष्ट फिल्म, नीर शाह उत्कृष्ट अभिनेता
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत विभिन्न ८ विधामा शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उत्कृष्ट फिल्म, कलाकार तथा प्राविधिकहरूलाई पुरस्कार वितरण गरेका हुन्।
यस वर्ष नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्विटर’ सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ। सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गर्न सफल भएका छन्। त्यस्तै, यही फिल्मकी अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्।
उत्कृष्ट अभिनेताको पुरस्कार भने चलचित्र ‘परान’ बाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन्। सोही चलचित्र ‘परान’ ले उत्कृष्ट पटकथा पुरस्कार पनि जितेको छ। पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन्। छायांकनतर्फको उत्कृष्ट पुरस्कार चलचित्र ‘कोशेढुंगा’ ले प्राप्त गरेको छ भने सोही चलचित्रबाट नहकुल खड्काले उत्कृष्ट सम्पादनको पुरस्कार हात पारेका छन्।
जूरी प्रोत्साहन पुरस्कार ‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’ बाट बिमोचन दवाडीलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउने ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, डा. सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, सञ्चारकर्मी प्रकाश सुवेदी, अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे तथा पत्रकार दिनेश सिटौला (मरणोपरान्त) रहेका छन्।
विशेष चलचित्र पुरस्कार लिम्बु भाषाको चलचित्र ‘नामछोङ’ लाई प्रदान गरिएको छ भने उत्कृष्ट आदिवासी चलचित्रको पुरस्कार नेवारी चलचित्र ‘इन्दिरा धिमे मैचा’ ले प्राप्त गरेको छ। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रले सर्जकलाई जिम्मेवार बनाउने मात्र नभई उनीहरूलाई थप सिर्जनात्मक ऊर्जा प्रदान गर्ने बताए। उनले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई मौलिक संस्कृति संरक्षण गर्ने महत्वपूर्ण साधन भएको उल्लेख गरे।
सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले चलचित्र समाजलाई जोड्ने शक्तिशाली माध्यम भएको उल्लेख गर्दै कलाकारहरूलाई सांस्कृतिक दूतका रूपमा व्याख्या गरे। उनले राजनीति विभाजनकारी भए पनि कला एकता ल्याउने माध्यम भएको धारणा राखे ।







