राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा गर्ने प्रस्ताव
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म गर्ने प्रस्ताव अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई परम्परागत शैलीबाट बाहिर निकालेर नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीले अहिलेसम्म अपनाएको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको स्पष्ट पारे।
‘हामीले जुन ढंगले अहिलेसम्म सोच्यौँ, जुन ढंगले चल्यौँ, त्यसमा परिवर्तन नगरी अब हुँदैन,’ उनले भने, ‘त्यसैले अब हामीले नयाँ ढंगले पार्टीलाई लैजानुपर्छ र आगामी महाधिवेशनले देशलाई एउटा नयाँ सन्देश दिनुपर्छ।’
लिङ्देनले प्रस्तावित महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिए। उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै अब ढिलाइ र अन्योल स्वीकार्य नहुने बताए। साथै निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको तयारीमा जुट्न आह्वान गरे।
उनले पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छाड्ने प्रवृत्तिप्रति लक्षित गर्दै ती गतिविधिले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत कमजोर पार्ने काम गरेको आरोप लगाए। केन्द्रीय समिति बैठकसँगै राप्रपा महाधिवेशनको तयारी औपचारिक रूपमा अघि बढेको छ भने पार्टीभित्र नेतृत्व, संगठन र भावी राजनीतिक दिशाबारे बहस तीव्र बनेको छ।







