करको विवेकपूर्ण उपयोग गर्ने सरकारको नीति छ : अर्थमन्त्री वाग्ले

User Image Prime TV News ४ घण्टा अगाडि
Image of करको विवेकपूर्ण उपयोग गर्ने सरकारको नीति छ : अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले करको विवेकपूर्ण र प्रभावकारी उपयोग गर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारको राजस्व व्यवस्थापन र खर्च प्रणालीबारे स्पष्ट धारणा राखेका हुन्।

उनले सरकारले देशभर विभिन्न स्रोतबाट संकलन हुने कर एकीकृत रूपमा सञ्चित कोषमा जम्मा हुने र त्यसको उपयोग जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले गर्ने बताए। ‘अर्को त्यो हजारौँ ठाउँबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ। जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ,’ उनले भने।

अर्थमन्त्री वाग्लेले कर संकलनका धेरै स्रोत हुन सक्ने भए पनि हाल सरकारले प्रयोजन र आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिरहेको उल्लेख गरे। उनले करलाई निश्चित उद्देश्यका लागि छुट्याउने (इयरमार्किङ) व्यवस्था सम्भव भए पनि त्यसले प्रशासनिक र कानुनी जटिलता बढाउन सक्ने बताए।

पूर्वाधार करको उदाहरण दिँदै उनले त्यस्तो कर दुरुपयोग नहुने दाबी गरे। बुढीगण्डकी आयोजनाका नाममा संकलित रकमको उदाहरण उल्लेख गर्दै उनले छुट्टै कोष बनाइराख्नुपर्ने आवश्यकता नरहेको संकेत गरे। त्यस्तै प्रदूषण करजस्ता शीर्षकमा उठाइने रकम वातावरण, स्वास्थ्य र सम्बन्धित मन्त्रालयमार्फत विभिन्न कार्यक्रममा परोक्ष रूपमा खर्च हुने उनले बताए।

अर्थमन्त्री वाग्लेले विशेष प्रकारको बजेट व्यवस्था आवश्यक परेमा त्यसलाई अघि बढाउन संसदले निर्देशन दिन सक्ने उल्लेख गर्दै बजेट निर्माणमा संसदको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे। उनका अनुसार सरकारले कर संकलन र खर्च प्रक्रियालाई सरल, पारदर्शी र कानुनी रूपमा व्यवस्थित बनाउने नीति लिएको छ।