सरकारले प्रतिपक्षको आवाज नसुनेको भन्दै हर्क साम्पाङको संसदमा कडा आलोचना

User Image Prime TV News ४ घण्टा अगाडि
Image of सरकारले प्रतिपक्षको आवाज नसुनेको भन्दै हर्क साम्पाङको संसदमा कडा आलोचना

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकार र सभामुखको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधिसभामा कडा आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद साम्पाङले प्रतिपक्षको आवाज बेवास्ता गर्दै सत्तापक्ष अघि बढिरहेको आरोप लगाए। उनले आफूहरू १६ दिनदेखि प्लेकार्डसहित संसदमा विरोध गर्दै आए पनि माग सम्बोधन नभएको बताए।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रयोग गरेको विवादास्पद अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने माग आफूहरूले लामो समयदेखि राख्दै आएको तर सुनुवाइ नभएको भन्दै आपत्ति जनाए। उनले सभामुख डिपी अर्याललाई पनि यस विषयमा ध्यान दिन आग्रह गरे।

‘सरकार र सभामुखले प्रतिपक्षको माग नसुन्ने हो भने हामी जिम्मेवार बन्न सक्दैनौँ,’ उनले भने, ‘मान्छे राम्रो लुगा लगाएर वा चिल्लो गाडी चढेर मात्र बन्दैन, उसमा नैतिकता र जवाफदेहिता हुनुपर्छ।’ सांसद साम्पाङले बजेट निर्माण र वितरण प्रक्रियामा देखिएको कमजोरीप्रति पनि आपत्ति जनाए। उनले रक्षा मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) उपलब्ध नगराई छलफल गरिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि जवाफदेहिताको प्रश्न उठाए।

त्यस्तै, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट विनियोजनमा अङ्कगणितीय त्रुटि देखिएको दाबी गर्दै उनले ठूलो रकमको स्पष्ट विवरण नदेखिएको भन्दै पारदर्शितामाथि प्रश्न उठाए। उनले भारतको पटनामा करिब ९ सय नेपालीलाई नेटवर्किङ व्यवसायको प्रलोभनमा बन्धक बनाइएको सूचना आएको उल्लेख गर्दै तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए।

स्वदेशी श्रमशक्ति विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सांसद साम्पाङले उत्पादनमुखी क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्न सरकारसँग ठोस योजना माग गरे।