राहदानी छपाइ अनियमितता प्रकरण : बयानमा आउन अख्तियारले कांग्रेस नेतृ आरजु राणा देउवालाई दिएको म्याद पूरा

User Image Prime TV News ५ घण्टा अगाडि
Image of राहदानी छपाइ अनियमितता प्रकरण : बयानमा आउन अख्तियारले कांग्रेस नेतृ आरजु राणा देउवालाई दिएको म्याद पूरा

काठमाडौ । राहदानी छपाइमा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानमा बयानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिएको म्याद पूरा भएको छ।

अख्तियारले असार २ गते बुढानीलकण्ठस्थित उनको निवासमा म्याद टाँस गरेको थियो। त्यसपछि आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफू विदेशमा रहेको र तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी गराएकी थिइन्।

इमेल प्राप्त भएपछि अख्तियारले भर्चुअल माध्यमबाट बयान लिन सकिने विकल्पमा छलफल अघि बढाएको छ। आयोग स्रोतका अनुसार इमेलमार्फत प्रश्न पठाएर बयान लिने सम्भावनाबारे समेत आन्तरिक छलफल भइरहेको छ। यदि बयान लिन सम्भव नभएमा प्राप्त इमेल विवरणलाई मिसिलमा समावेश गरी विशेष अदालतमा अभियोग दायर गर्ने तयारी अख्तियारले गरेको बताइएको छ।

आयोगका एक उच्च अधिकृतका अनुसार बयान प्रक्रिया पूरा नभए पनि उनलाई फरार प्रतिवादी कायम गरी मुद्दा अघि बढाउने विकल्पमा अनुसन्धान केन्द्रित छ। त्यस्तै, विशेष अदालतको अनुमति लिएर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गर्ने विकल्पसमेत अख्तियारले विचार गरिरहेको स्रोतले जनाएको छ।

राहदानी विभागको छपाइ प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मुल्हबाउरका प्रतिनिधि मुनिन्द्रराज मल्ल पनि अनुसन्धानमा तानिएका छन्। यस प्रकरणमा मुनिन्द्रराज मल्ल, विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी र तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई समेत पक्राउ गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रभावमा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको दाबी अनुसन्धान स्रोतले गरेको छ।