प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित, ४ अध्यादेश स्वीकृत

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधिसभा बैठक ६ दिनका लागि स्थगित, ४ अध्यादेश स्वीकृत

काठमाडौ । प्रतिनिधिसभाको बैठक ६ दिनपछि बस्ने गरी स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनुअघि आठ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएको थियो। शुक्रबार प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्।

स्वीकृत हुने अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्।

सरकारले यसअघि अधिवेशन नचलेको अवस्थामा विभिन्न कानुनी तथा नीतिगत सुधारका उद्देश्यसहित यी अध्यादेशहरू जारी गरेको थियो। यसअघि नै संसद्मा पेस गरिएका यी अध्यादेशहरूमध्ये चार वटा स्वीकृत भएपछि अब प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।

अन्य अध्यादेशहरूमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन), सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। प्रतिनिधिसभामा अध्यादेश स्वीकृत प्रक्रियासँगै आगामी दिनमा बाँकी अध्यादेशहरूबारे छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।