टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा असार ९ गते सुनुवाइ हुने

User Image Prime TV News ८ घण्टा अगाडि
Image of टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा असार ९ गते सुनुवाइ हुने

काठमाडौ । टेरामक्स प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा अब असार ९ गते विशेष अदालतमा सुनुवाइ हुने भएको छ।

विशेष अदालत स्रोतका अनुसार प्राविधिक परीक्षण प्रतिवेदन प्राप्त भएपछि सोही मितिमा मुद्दाको पेसी तोकिएको हो। अदालतले गत माघ १३ गते उपकरणहरूको प्राविधिक परीक्षणका लागि प्राविधिक समिति गठन गरेको थियो।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसहित प्रतिवादी रहेको उक्त मुद्दामा समितिले तयार पारेको प्रतिवेदनले अभियोग पक्षका दाबी विपरीत निष्कर्ष दिएको स्रोतको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) स्थापना गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको थियो। अन्तर्राष्ट्रिय कल निगरानी, कल बाइपास नियन्त्रण तथा राजस्व चुहावट रोक्ने उद्देश्यसहित यो प्रणाली खरिद गर्ने योजना बनाइएको थियो।

तर, बोलपत्र प्रक्रियामा अनियमितता भएको भन्दै प्रश्न उठेपछि लेबनानको भेन्राइज सोलुसन्स कम्पनीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो। पछि सर्वोच्च अदालतमा पनि रिट दायर भएको थियो। यसअघि सार्वजनिक लेखा समितिले पनि टेरामक्स खरिद प्रक्रियाबारे १२ बुँदे निर्देशन जारी गर्दै अनुसन्धान गर्न अख्तियारलाई भनेको थियो।

अख्तियारले २०८२ जेठ १ गते अनुसन्धान प्रतिवेदनसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा तत्कालीन मन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष, सदस्यहरू, निर्देशकहरू तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ। अख्तियारले करिब ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।

प्रकरणमा केही प्रतिवादीहरू धरौटीमा रिहा भएका छन् भने केही अनुसन्धानकै क्रममा रहेका छन्। अदालतले मागेको प्राविधिक परीक्षण प्रतिवेदनमा टेरामक्स प्रणालीको उद्देश्य र व्यवहारिक प्रयोगबीच असन्तुलन देखिएको उल्लेख गरिएको स्रोतको दाबी छ। प्रविधिको औचित्य, कार्यान्वयन र नतिजाबीच मेल नदेखिएको निष्कर्ष प्रतिवेदनमा समेटिएको बताइएको छ।

अब असार ९ गते हुने सुनुवाइलाई यस मुद्दाको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।