राजदूत नियुक्तिका लागि सर्टलिस्टिङ प्रक्रिया तीव्र
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न माग गरिएको आवेदनको सर्टलिस्टिङ प्रक्रिया तीव्र बनाएको छ। मन्त्रालयका अनुसार खुला प्रतिस्पर्धामार्फत आवेदन दिएका हजारौँ उम्मेदवारमध्ये आवश्यक योग्यता र मापदण्ड पूरा गर्नेहरूको छनोट कार्य जारी छ।
गत जेठ १४ गते १३ जना राजदूतका लागि आवेदन आह्वान गरिएको थियो। निर्धारित समयभित्र करिब तीन हजार आवेदन परेकामा प्रारम्भिक जाँचपछि २७ सय आवेदनलाई सूचीकृत गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार केही आवेदकले दोहोरो आवेदन दिएका, कतिपयका विवरण र कागजात नमिलेका तथा आवश्यक बायोडाटा पेश नगरेका कारण आवेदन संख्या घटाइएको हो। अहिले सूचीकृत आवेदकहरूमध्ये पनि उमेर, शैक्षिक योग्यता, कार्यअनुभव तथा अन्य मापदण्डका आधारमा थप छनोट भइरहेको छ।
सर्टलिस्ट तयार भएपछि उम्मेदवारलाई अन्तर्वार्ता वा प्रस्तुतीकरणका लागि बोलाइने सम्भावना रहेको छ। यद्यपि अन्तिम छनोट प्रक्रिया कस्तो हुने भन्ने विषयमा सरकारले औपचारिक निर्णय गरिसकेको छैन। मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले सर्टलिस्टमा परेका उम्मेदवारको योग्यता, कूटनीतिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान तथा समग्र पृष्ठभूमिको मूल्याङ्कन गरेर नियुक्ति प्रक्रिया अघि बढाउन सक्छ।
हाल १३ देशका लागि आवेदन मागिएको भए पनि कुन–कुन देशमा नियुक्ति गरिने भन्ने खुलाइएको छैन। यसबीच आगामी भदौसम्म थप केही करिअर कूटनीतिज्ञहरूको कार्यकाल समाप्त हुने भएकाले विभिन्न नेपाली दूतावासमा रिक्त हुने पदहरूको संख्या बढ्ने देखिएको छ।
राजदूत नियुक्तिसम्बन्धी विद्यमान निर्देशिकाअनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत नेपाल परराष्ट्र सेवाका वरिष्ठ अधिकृतहरूबाट नियुक्त गर्नुपर्ने व्यवस्था छ। त्यसैले आगामी नियुक्तिमा खुला प्रतिस्पर्धाबाट छनोट हुने उम्मेदवार र करिअर कूटनीतिज्ञबीच कसरी सन्तुलन मिलाइन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।







