प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशा नफैलाउन प्रचण्डको आग्रह

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशा नफैलाउन प्रचण्डको आग्रह

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीभित्र अनावश्यक निराशा र भ्रम फैलाउने गतिविधिबाट सचेत रहन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयबाट डिजिटल माध्यममार्फत पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताका पक्षमा संघर्ष गरेका दलहरूलाई कमजोर पार्ने प्रयास गरिरहेको बताए।

उनले पार्टी, आन्दोलन र नेतृत्वविरुद्ध अनावश्यक विवाद तथा कचिंगल सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिले प्रतिक्रियावादी शक्तिलाई बल पुग्ने बताए। स्थापित राजनीतिक शक्तिहरूलाई विभाजित गर्ने, अन्तरकलह बढाउने र कार्यकर्ताबीच भ्रम फैलाउने षडयन्त्र निरन्तर चलिरहेको उनको भनाइ थियो।

संयोजक प्रचण्डले जानेर वा नजानेर निराशा फैलाउने र हतोत्साहित गर्ने प्रवृत्तिबाट बच्न आग्रह गर्दै कम्युनिस्ट आन्दोलनले विगतमा पनि अनेक उतारचढाव सामना गर्दै सफलता हासिल गरेको स्मरण गराए। उनले पार्टी फेरि जनतामाझ विश्वासका साथ अघि बढ्ने दाबी समेत गरे।

“प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरौं, फ्रस्टेसन बाँड्ने काम नगरौं,” भन्दै उनले महाधिवेशनसम्म विचार र संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनको यो अभिव्यक्ति वरिष्ठ नेता झलनाथ खनाल प्रति लक्षित गरेका थिए ।

केही दिनअघि नेता खनालले प्रचण्डलाई खुला पत्र लेख्दै पार्टी सञ्चालन शैली र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए। प्रचण्डले सोही प्रसंगलाई सांकेतिक रूपमा सम्बोधन गरेको विश्लेषण गरिएको छ।