आज देशभर मिश्रित मौसम, तराईमा अत्यधिक गर्मी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आज असार ६ गते देशका विभिन्न सहरहरूमा मिश्रित मौसम रहने पूर्वानुमान गरिएको छ।
मौसम अनुसार पश्चिम तराईका केही क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने सम्भावना रहेको छ भने पहाडी तथा पूर्वी क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र वर्षा हुने अनुमान गरिएको छ।
पश्चिम तराईका नेपालगञ्ज र धनगढीमा आज सबैभन्दा बढी गर्मी हुने देखिएको छ। नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस र धनगढीमा ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यी क्षेत्रमा तातो हावाको प्रभाव देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
यस्तै वीरेन्द्रनगर, घोराही, भैरहवा, सिमरा र जनकपुरमा पनि दिउँसो गर्मी बढ्ने सम्भावना छ। रातिको समयमा अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि सिमरा र जनकपुरमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
अर्कोतर्फ, काठमाडौँ, पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यी क्षेत्रमा वर्षाको सम्भावना ४० देखि ६० प्रतिशतसम्म रहेको जनाइएको छ।
डडेल्धुरा, दिपायल र जुम्लामा हल्का वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि काठमाडौँ, पोखरा, विराटनगर, धरान, धनकुटा, ओखलढुङ्गा र ताप्लेजुङलगायत क्षेत्रमा वर्षा जारी रहन सक्ने पूर्वानुमान छ।
तापक्रमतर्फ जुम्लामा रातिको न्यूनतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने नेपालगञ्जमा सबैभन्दा बढी २८ देखि ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। मौसमविद्ले अत्यधिक गर्मी तथा चट्याङ्गको जोखिम भएका क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्।







