रास्वपाको प्रथम महाधिवेशन भोलिदेखि, निर्वाचन कार्यतालिका र उम्मेदवारी शुल्क सार्वजनिक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका, उम्मेदवारी प्रक्रिया र शुल्क सम्बन्धी विवरण सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार असार ६ गते राति पार्टीको वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। प्रतिनिधिमाथि दाबी वा विरोधका लागि असार ७ गते राति ८:३० बजेसम्म समय तोकिएको छ भने सोही दिन राति अन्तिम नामावली प्रकाशन गरिनेछ।
असार ८ गते उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुनेछ। दिउँसो १ बजेदेखि फारम वितरण गरिने र २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको छ। प्रारम्भिक उम्मेदवार सूची प्रकाशनपछि दाबी–विरोध, जाँचबुझ तथा नाम फिर्ता प्रक्रिया पूरा गरेर राति अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ।
पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदान सकिएको दुई घण्टापछि मतगणना सुरु गरी नतिजा घोषणा गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार सभापति पदका लागि ५१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ। साथै १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।
त्यस्तै पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तथा १ प्रस्तावक र २१ समर्थक आवश्यक पर्नेछ। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन २१ हजार रुपैयाँ शुल्क, १ प्रस्तावक र २१ समर्थकको व्यवस्था गरिएको छ।
उम्मेदवारी दर्ताका लागि शुल्क बुझाएको प्रमाण, अनुशासन कारबाही नभएको स्वघोषणा, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।








