महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न रास्वपा सभापति लामिछानेको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न रास्वपा सभापति लामिछानेको आग्रह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा उनले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाइतर्फ लैजान सकिने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता–कार्यकर्ता जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुने उनले विश्वास व्यक्त गरे । हालसम्म आफ्नो नेतृत्वलाई विश्वास गरेर साथ दिएकामा उनले धन्यवाद दिए ।

आउँदा दिनमा पनि पार्टीलाई अझ समृद्ध पार्ने जिम्मेवारीका साथ एकताबद्ध भएर अघि बढ्ने उनले बताए । आफ्नो जिन्दगीको अनेक भोगाइ र उतारचढावबीच पछिल्लो चार वर्षमा भएका कामको व्याख्या र वर्णन गर्न आवश्यक नरहेको उनले उल्लेख गरे ।

सभापति लामिछानेले पारदर्शी रूपमा आफूहरू आमनागरिकको सार्वजनिक परीक्षणमा रहेको बताए । उनले अहिले रास्वपाको जिम्मेवारी हिजोको भन्दा धेरै महत्त्वपूर्ण रहेको समेत बताए ।

रास्वपाका माध्यमबाट नागरिकले देखेको सुशासन, समृद्धि र सामाजिक न्यायको सपना पूरा गर्न जिम्मेवारीपूर्वक अघि बढ्ने उनले उल्लेख गरे ।