रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४,२११ प्रतिनिधि टुंग्यायो

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४,२११ प्रतिनिधि टुंग्यायो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ जना प्रतिनिधि निर्धारण गरेको छ। पार्टीले सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधि चयन गरेको जनाएको छ।

पार्टी सचिवालयअन्तर्गत सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। त्यस्तै, पार्टी विधानअनुसार सभापतिबाट १३८ जना मनोनयन गरिएको छ भने समूहगत रूपमा पार्टी प्रवेश गरेका सदस्यहरूमध्ये १९२ जनालाई प्रतिनिधिका रूपमा समेटिएको छ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ जना प्रतिनिधि चयन भएका छन्। त्यसपछि मधेस प्रदेशबाट ६३०, लुम्बिनी प्रदेशबाट ६२१, सुदूरपश्चिम प्रदेशबाट ५०५, गण्डकी प्रदेश बाट ४५४, कोसी प्रदेशबाट ३६४ तथा कर्णाली प्रदेशबाट ३४३ जना प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति तथा उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। साथै प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

पार्टीका अनुसार सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट समेत ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

स्थानीय तहको आधारमा प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना तथा जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

यसका अतिरिक्त २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेर पराजित भएका व्यक्ति, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय सदस्यहरूलाई समेत महाधिवेशन प्रतिनिधिमा समावेश गरिएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठन विस्तार, नेतृत्व चयन तथा भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।