विश्वकपमा केप भर्डेको अर्को चमत्कार, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of विश्वकपमा केप भर्डेको अर्को चमत्कार, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

काठमाडौ । पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकको पूर्वविजेता उरुग्वेलाई रोमाञ्चक बराबरीमा रोकेको छ।

सोमबार बिहान मियामीमा सम्पन्न समूह ‘एच’ अन्तर्गतको खेल २–२ गोलको बराबरीमा सकिएको हो। यसअघि पहिलो खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोक्दै चर्चा कमाएको केप भर्डेले उरुग्वेविरुद्ध पनि आत्मविश्वासपूर्ण प्रदर्शन गर्‍यो।

खेलको २१औँ मिनेटमा केभिन पिनाले करिब ३० यार्ड टाढाबाट गरेको आकर्षक फ्रिकिक प्रहार गोलमा परिणत भएपछि केप भर्डेले अप्रत्याशित अग्रता लिएको थियो।

अग्रता लिएपछि केप भर्डे केही रक्षात्मक दबाबमा परेको थियो। त्यसको फाइदा उठाउँदै उरुग्वेले खेलमा फर्कियो। डिफेन्डर सिड्नी लोपेस काब्रालको गल्तीपछि म्याक्सी अराउजोले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले अर्को गोल थप्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफमा उरुग्वेले खेलमा नियन्त्रण कायम राखे पनि केप भर्डेले हार मानेन। उरुग्वेका म्याथियास ओलिभेराको रक्षात्मक गल्तीको फाइदा उठाउँदै हेलियो वारेलाले बल नियन्त्रणमा लिएर गोल गर्दै खेल फेरि बराबरीमा ल्याए।

खेलको अन्त्यतिर उरुग्वेका स्टार फेडरिको भाल्भर्डेले जाली चुमाए पनि भिडियो सहायक रेफ्रीले अफसाइड ठहर गरेपछि गोल मान्यता पाएन। बाँकी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि नतिजा बदल्न सकेनन्।

यो बराबरीसँगै समूह ‘एच’ मा दुई खेलबाट समान २ अंक जोड्दै उरुग्वे दोस्रो स्थानमा रहेको छ भने केप भर्डे तेस्रो स्थानमा छ। अब समूह चरणको अन्तिम खेल दुवै टोलीका लागि नकआउट चरण पुग्ने सम्भावना तय गर्ने निर्णायक अवसर बन्नेछ।