सरकारलाई परिणाममुखी बनाउन प्रतिपक्षको भूमिका निरन्तर : आङ्देम्बे
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गरिरहेको बताएका छन्।
सोमबार इलाम नगरपालिकाको नगरसभामा बोल्दै उनले प्रतिपक्षको भूमिका विरोधका लागि मात्र नभई सरकारलाई जिम्मेवार बनाउने र जनताप्रति गरिएका प्रतिबद्धता पूरा गराउनेतर्फ केन्द्रित भएको स्पष्ट पारे। उनका अनुसार संसदभित्र प्रतिपक्षले उठाएका विषयहरू जनताको वास्तविक समस्या र आवाज हुन्।
विशेषगरी किसानहरू विभिन्न समस्याबाट पीडित भइरहेका बेला राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको उनले टिप्पणी गरे। आङ्देम्बेले सरकार ठूलो जनमतबाट बने पनि त्यसलाई जनउत्तरदायी बनाउने दायित्व प्रतिपक्षको रहेको बताए। उनले संसदमा प्रतिपक्षले उठाउने विषय सरकारलाई सचेत गराउने र परिणाममुखी बनाउन सहयोग गर्ने उद्देश्यका साथ हुने उल्लेख गरे।
उनका अनुसार देशमा सरकारप्रति असन्तुष्टि बढ्दै गएको र नयाँ राजनीतिक शक्तिप्रति आकर्षण देखिएको छ। तर केवल दल परिवर्तनले मात्र समस्या समाधान नहुने निष्कर्षतर्फ जनता पुग्न थालेको उनले टिप्पणी गरे। उनले विगतमा राजनीतिक दलहरूले जनताको विश्वास जोगाउन नसकेको कारण नयाँ दलहरूतर्फ आकर्षण बढेको स्वीकार गर्दै अब सबै दल जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
आङ्देम्बेले कांग्रेस अब केवल विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट गर्दै सरकारसँग सहकार्य गरेर परिणाम ल्याउने दिशामा अघि बढ्ने बताए। उनका अनुसार लोकतन्त्रको सफलता नै सत्ता र प्रतिपक्ष दुवैले जनताको अपेक्षाअनुसार काम गर्नुमा निर्भर हुन्छ।







