इजरायल केयरगिभर भाषा परीक्षामा १ हजार २३१ जना मात्र उत्तीर्ण

User Image Prime TV News ४ हप्ता अगाडि
Image of इजरायल केयरगिभर भाषा परीक्षामा १ हजार २३१ जना मात्र उत्तीर्ण

काठमाडौ । इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा काम गर्न इच्छुक नेपाली श्रमिकका लागि लिइएको अंग्रेजी भाषा परीक्षामा १ हजार २३१ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा कुल १५ हजार ६२६ जना सहभागी भएका थिए।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले २ हजार ३०० जना केयरगिभर माग गरे पनि भाषा परीक्षाको कडा मापदण्डका कारण उत्तीर्ण हुनेको संख्या अपेक्षाभन्दा कम रहेको हो। विभागकी महानिर्देशक मीरा आचार्यले भाषा परीक्षा उत्तीर्ण उम्मेदवारहरूको विवरण प्राप्त भइसकेको बताइन्।

अब आवेदनसँग पेश गरिएका कागजातहरूको छानबिन गरी योग्य उम्मेदवारहरूको अन्तिम सूची इजरायल पठाइने उनले जानकारी दिइन्। इजरायलले अंग्रेजी भाषाको ‘स्पिकिङ’ सीपलाई विशेष प्राथमिकता दिएको छ। परीक्षामा स्पिकिङतर्फ कम्तीमा बी–वान तह अनिवार्य गरिएको थियो। साथै राइटिङमा ए–वान तथा लिस्निङ र रिडिङमा ए–टु तह प्राप्त गर्नुपर्ने व्यवस्था रहेको थियो।

इजरायलले माग गरेका २ हजार ३०० श्रमिकमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन्। योग्य उम्मेदवारहरूमध्ये अन्तिम छनोट भने गोलाप्रथाबाट गरिनेछ। छनोट भएका श्रमिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा शारीरिक तथा मानसिक रूपमा अशक्त व्यक्तिहरूको हेरचाह गर्ने काम गर्नेछन्। उनीहरूको करार अवधि पाँच वर्षसम्म रहनेछ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी प्रक्रियामार्फत श्रमिक पठाइने व्यवस्था छ। इजरायलमा केयरगिभरको मासिक तलब करिब ३ लाख ४७ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ। भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मागभन्दा कम भएपछि बाँकी कोटा कसरी पूर्ति गर्ने भन्ने विषयमा नेपाल र इजरायलबीच थप छलफल हुने विभागले जनाएको छ।