राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जना तथा सम्बन्धित कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज अर्याल, बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा तथा राहदानी छपाइमा संलग्न जर्मन कम्पनीका प्रतिनिधिसहित १८ जनालाई प्रतिवादी बनाएको हो। मुद्दामा हाल हिरासतमा रहेका अर्यालसहित सुनिलकुमार केसी, तुलसीप्रसाद आचार्य, राजाराम दाहाल, भेषराज भुर्तेल, सोमेश थापा, सिद्धार्थ थापा र पुष्करराज नेपालविरुद्ध अभियोग लगाइएको छ।
जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्ल सहित अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ। यद्यपि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाम भने मुद्दामा समावेश गरिएको छैन। आयोगले यसअघि उनलाई बयानका लागि सूचना जारी गरेको थियो। तर विशेष अदालतमा दायर अभियोगपत्रमा उनको नाम प्रतिवादीका रूपमा समेटिएको छैन।
आयोगको अनुसन्धानले राहदानी छपाइ प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालेको छ। अनुसन्धानअनुसार ५ मंसिर २०८१ मा विद्युतीय राहदानी छपाइका लागि ६४ लाख राहदानीको ग्लोबल टेन्डर आह्वान गरिएको थियो।
त्यसक्रममा बोलपत्र मूल्यांकनका लागि गठन गरिएको समितिले निश्चित कम्पनीलाई लाभ पुग्ने गरी प्रक्रिया अघि बढाएको आरोप आयोगको छ। राहदानी छपाइको ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले पाएका थिए। भेरिडोसले करिब ६ अर्ब ५५ करोड रुपैयाँ र मुल्हबाउरले १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ठेक्का प्राप्त गरेका थिए।
आयोगले ठेक्का प्रक्रियामा मिलेमतो, अनियमितता तथा सार्वजनिक सम्पत्तिमा हानि पुर्याइएको दाबी गर्दै विशेष अदालतमा विस्तृत अभियोगपत्र दायर गरेको जनाएको छ। अब यस प्रकरणको अन्तिम टुंगो विशेष अदालतको सुनुवाइपछि लाग्नेछ।







