पर्यटन बोर्डको छनोट समिति विवादमा, निजी क्षेत्र असन्तुष्ट

User Image Prime TV News ४ हप्ता अगाडि
Image of पर्यटन बोर्डको छनोट समिति विवादमा, निजी क्षेत्र असन्तुष्ट

काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य नियुक्तिका लागि गठन गरिएको छनोट समितिमाथि प्रश्न उठेपछि पर्यटन क्षेत्रमा विवाद चुलिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव मुकुन्द निरौलाको नेतृत्वमा छनोट प्रक्रिया अघि बढाएको थियो। तर, समितिको संरचना र योग्यतामाथि प्रश्न उठ्दै निजी क्षेत्रका पर्यटन व्यवसायीहरू असन्तुष्ट बनेका छन्।

बोर्ड सदस्य छनोटका लागि सहसचिव तथा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा विपिन नेपाल र शुभम पौडेल सदस्य रहेका छन्। उनीहरू दुवै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान मा कार्यरत शिक्षक हुन्।

निजी पर्यटन व्यवसायीहरूले सरकारी कर्मचारी मात्र समेटेर समिति बनाइएको भन्दै आपत्ति जनाएका छन्। विगतमा पर्यटन क्षेत्रका अनुभवी निजी व्यवसायी तथा पूर्व बोर्ड सदस्य समेत रहने गरी समिति गठन हुने परम्परा रहेकामा अहिले त्यसलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ।

पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडेलमा स्थापित संस्था भएकाले निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने व्यवस्था छ। ११ सदस्यीय सञ्चालक समितिमा ५ जना निजी क्षेत्रबाट रहने र सदस्य सचिव समेत निजी क्षेत्रबाट चयन हुने अभ्यास रहँदै आएको थियो।

तर, हालको छनोट प्रक्रियामा सरकारी कर्मचारीको प्रभाव बढाइएको भन्दै व्यवसायीहरूले बोर्डको मूल भावना विपरीत कदम चालिएको टिप्पणी गरेका छन्। समितिका सदस्यहरूको योग्यता र तहबारे पनि प्रश्न उठेको छ। नाथमका दुवै सदस्य उपप्राध्यापक तहका कर्मचारी भएकाले सहसचिव स्तरको बोर्ड सदस्य छनोट गर्ने जिम्मेवारी उनीहरूलाई दिनु अस्वाभाविक भएको आलोचना भइरहेको छ।

हाल बोर्ड सदस्य पदका लागि करिब ८५५ जनाले आवेदन दिएका छन्। सरकारले २२ जेठमा सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो। पर्यटन व्यवसायीहरूले यो निर्णयले निजी क्षेत्रको सहभागिता कमजोर बनाउने र बोर्डको स्वायत्ततामाथि असर पार्ने भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।