एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो।

पार्टीको पुनर्गठन अभियानका सिलसिलामा सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित शुभम होटेलमा आयोजित कार्यक्रमस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य छविलाल विश्वकर्माले पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरेको जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार पक्राउपछि पौडेललाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

स्रोतका अनुसार पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ र थप अनुसन्धानका लागि आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

यसअघि अनुसन्धान टोलीले पौडेलको भैँसेपाटीस्थित निवासमा पनि छापा मारेको बताइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषयमा सम्बन्धित निकायबाट विस्तृत आधिकारिक जानकारी आउन बाँकी रहेको छ।

पक्राउ अनुसन्धानको चरणको प्रक्रिया भएकाले आरोप प्रमाणित भइनसकेको अवस्था रहेको छ।