रास्वपाको बन्दसत्र आज दिउँसो सुरु हुँदै, ६ प्रतिवेदन प्रस्तुत गरिने

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपाको बन्दसत्र आज दिउँसो सुरु हुँदै, ६ प्रतिवेदन प्रस्तुत गरिने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसो सुरु हुने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिहरूको परिचयपत्र वितरणलगायतका तयारीका काम सम्पन्न गरी दिउँसो २ बजेपछि बन्दसत्र प्रारम्भ गरिनेछ।

बन्दसत्रमा पार्टीका विभिन्न निकाय र नेतृत्व तहबाट ६ वटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ। सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गरेपछि अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि कोषाध्यक्ष लीमा अधिकारीले वित्तीय प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रस्ताव तथा उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका तय गरिएको छ। अन्तिममा सभापति लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

पार्टीका अनुसार प्रस्तुत सबै प्रतिवेदनमाथि छलफल गरी पारित गरेपछि साँझबाट निर्वाचन प्रक्रिया सुरु गरिनेछ। असार ७ गते भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको छ।

प्रतिनिधि छनोट प्रक्रियासम्बन्धी विवादका कारण सोमबार सुरु हुने भनिएको बन्दसत्र एक दिन पछि सारिएको थियो। अब बन्दसत्रमार्फत पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।