रास्वपा महाधिवेशनमा विवाद : सभापति उम्मेदवार कानुको नाम प्रतिनिधि सूचीबाट हटाइयो

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनमा विवाद : सभापति उम्मेदवार कानुको नाम प्रतिनिधि सूचीबाट हटाइयो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका भोलाकुमार साह कानु (अभिषेक गुप्ता) को नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको छ।

बारा क्षेत्र नम्बर–३ का कानुले सामाजिक सञ्जालमार्फत आफूलाई अन्तिम नामावलीबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यसअघि पार्टी सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

कानुले पार्टीका बर्खास्त गरिएका बाराका पूर्वसभापति चन्दन स्वर्णकारको सदस्यता पुनः कायम गर्नुपर्ने माग उठाउँदै सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। सोही विषयलाई लिएर उनले पार्टी नेतृत्वको आलोचनासमेत गर्दै आएका थिए।

महाधिवेशन प्रतिनिधिको सूचीबाट नाम हटाइनुको कारणबारे पार्टी नेतृत्वले औपचारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि, कानुले आफ्नो नाम हटाइनु उम्मेदवारी घोषणासँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन जारी रहँदा प्रतिनिधि छनोट र आन्तरिक प्रक्रियालाई लिएर केही विवादहरू सतहमा आएका छन्।