राहदानी विभागको पासपोर्ट खरिदमा भ्रष्टाचार आरोप, १० अर्बभन्दा बढी बिगो दाबी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागमा पासपोर्ट छाप्ने मेसिन खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कम क्षमताका तथा आवश्यकभन्दा कम संख्याका मेसिन खरिद गरिएको र त्यसमा मिलेमतो भएको आरोप लगाएको छ।
अख्तियारका अनुसार बोलपत्रमा दैनिक ६ हजार पासपोर्ट छाप्ने क्षमता भएका मेसिन तथा कम्तीमा एउटा जगेडा मेसिन हुनुपर्ने स्पष्ट सर्त राखिएको थियो। तर ठेकेदार कम्पनीसँग मिलेमतो गरी कम संख्याका मेसिन उपलब्ध गराइएको आरोप आयोगको छ।
आयोगले दायर गरेको आरोपपत्रमा प्रतिघण्टा ५०० पासपोर्ट छाप्ने क्षमता भएका दुईवटा मेसिन मात्र प्रस्ताव गरिएको र जगेडा मेसिनसमेत नराखिएको उल्लेख छ। यसले प्राविधिक समस्या आएमा सम्पूर्ण पासपोर्ट छपाइ नै प्रभावित हुने जोखिम रहेको अख्तियारको दाबी छ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले भने एउटा मेसिन भए पनि काम चल्ने दाबी गर्दै ठेकेदारको पक्षमा सर्वोच्च अदालतमा लिखित जवाफ दिएका थिए। तर अख्तियारले उक्त निर्णयलाई नियमविपरीत र राज्यलाई आर्थिक नोक्सानी पुर्याउने खालको भएको जिकिर गरेको छ।
आयोगका अनुसार खरिद प्रक्रियामा रहेका उपकरणहरूको प्राविधिक परीक्षण नगरी दोहोरो खरिद गरिएको, आवश्यक अध्ययन बिना निर्णय गरिएको र पहिलेका पूर्वाधार उपयोग नहुने अवस्था सिर्जना गरिएको छ।
अख्तियारले पहिलो प्याकेजमा जर्मनीको म्युलवर कम्पनीसँग भएको ठेक्कामा करिब १ अर्ब ९० करोड रुपैयाँ र दोस्रो प्याकेजमा भेरिडोस कम्पनीसँगको ठेक्कामा करिब ८ अर्ब २२ करोड रुपैयाँ गरी कुल १० अर्ब १३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ।
यद्यपि दुवै ठेक्कामा पूर्ण भुक्तानी नभएको र सीमित रकम मात्र भुक्तानी भएको भए पनि आयोगले सम्झौताको कुल रकमलाई नै बिगो दाबीका रूपमा प्रस्तुत गरेको छ।







