कीर्तिपुरको होल्डिङ सेन्टर ५ दिनभित्र खाली गर्न निर्देशन, पुनर्स्थापना राहत दिने तयारी
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न निर्देशन दिएको छ।
नदी किनारका बस्ती हटाइएपछि अस्थायी रूपमा राखिएका परिवारहरूलाई सोमबारदेखि शुक्रबारसम्मको समय दिँदै स्व–व्यवस्थापन गरी स्थान खाली गर्न सूचना टाँस गरिएको समितिले जनाएको छ।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार होल्डिङ सेन्टरमा लामो समयसम्म बस्दा प्रभावित परिवारको दैनिकी अस्तव्यस्त बनेको र त्यसलाई ध्यानमा राखेर स्थानान्तरणको निर्णय गरिएको हो।
उनका अनुसार, “सेन्टरमा बस्नेहरूले काममा जान नपाएको, जीवन असहज बनेको र यो केवल अस्थायी व्यवस्था भएकाले खाली गराउनुपरेको हो। साथै मनसुन सुरु भइसकेकाले बाढी र डुबानको जोखिम पनि उच्च छ,” उनले बताए।
समितिले वर्षायामअगावै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुरक्षा र मानवीय कारणले ५ दिने अल्टिमेटम दिनुपरेको स्पष्ट पारेको छ। सरकारले प्रभावित परिवारका लागि राहत तथा पुनर्स्थापना प्याकेज समेत लागू गर्ने तयारी गरेको छ। यसअन्तर्गत अस्थायी रूपमा बसिरहेका परिवारलाई कोठा व्यवस्थापनका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ एकमुष्ट पुनर्स्थापना खर्च दिइनेछ।
त्यसैगरी वास्तविक सुकुमबासी तथा घरबारविहीन प्रमाणित परिवारलाई मासिक १५ हजार रुपैयाँसम्म भाडा सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको समितिले जनाएको छ। यो सहयोग स्थायी व्यवस्थापन नभएसम्म जारी रहने बताइएको छ।
समितिका अनुसार हाल उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा ३८८ परिवार आश्रित छन्। राहत वितरणका लागि विशेष टोली परिचालन गरिएको र प्रभावित परिवारले बैंक खाता विवरणसहित निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। निवेदन संकलनपछि रकम सिधै बैंकमार्फत उपलब्ध गराइने समितिले जनाएको छ।







