गगन थापाद्वारा कांग्रेसभित्रको अवस्थाप्रति कटाक्ष, ‘पार्टीलाई छिया–छिया पारियो’
Prime TV News ४ हप्ता अगाडि 
झापा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला वर्षहरूमा पार्टीभित्र देखिएको अवस्था प्रति असन्तुष्टि जनाउँदै नेताहरूलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई पछिल्ला ८–१० वर्षमा “छिया–छिया पारिएको” बताए। उनले पार्टी पुनर्निर्माणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई अवरोध गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे।
थापाले भने, “पार्टी बनाउने अभियानमा छौं। यसलाई बनाउँछु भनेर आएको बेलामा अप्ठ्यारो पार्ने गरी आउने कुनै पनि प्रस्ताव मानिँदैन। हामी नटेरी अघि बढ्छौं।” उनले पार्टी सदस्यता अद्यावधिक नगर्ने नेता तथा कार्यकर्तालाई लक्षित गर्दै महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने चेतावनी पनि दिएका छन्।
थापाका अनुसार, सदस्यता अद्यावधिक नगरेका व्यक्तिहरूलाई प्रणालीले नचिन्ने भएकाले उनीहरूले मतदान अधिकार गुमाउनेछन्। उनले भने, “अब वडास्तरको अधिवेशन सुरु हुन्छ। अध्यावधिक नगरेका साथीहरूको नाम सिस्टममा आउँदैन, त्यसैले भोट हाल्न पाउनुहुन्न।”
थापाले सबै नेता तथा कार्यकर्तालाई समयमै सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै पार्टीलाई व्यवस्थित र प्रणालीबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्याए।







