रास्वपा सभापति लामिछानेको अपिल : ‘गुट होइन, परिणाममुखी सोच आवश्यक’
Prime TV News ४ हप्ता अगाडि 
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीलाई गुटबन्दीबाट टाढा राख्दै परिणाममुखी सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले फरक परिणाम हासिल गर्नका लागि सदस्यहरूले पुरानो राजनीतिक शैलीभन्दा फरक ढंगले सोच्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र कुनै पनि प्रकारको गुट निर्माण नगर्न आग्रह गर्दै भने, “विवेक प्रयोग गरेर मतदान गर्नुपर्छ, यसलाई दिनु र उसलाई नदिनु भन्ने मानसिकता राख्नु हुँदैन।”
लामिछानेले पुरानो ‘कुलिन शैली’ को राजनीति दोहोरिन नदिन चेतावनी दिँदै पार्टीलाई गलत अभ्यासबाट जोगाउने जिम्मा सबै सदस्यको भएको बताए।“हिजोको कुलिन शैलीको निरन्तरता नदेखौँ। पार्टीलाई दुर्घटनाबाट जोगाउने जिम्मा म तपाईंहरूलाई सुम्पन चाहन्छु,” उनले भने।
उनले आफू कुनै पनि उम्मेदवारको पक्षमा नलाग्ने स्पष्ट गर्दै निष्पक्ष भूमिकामा रहने बताए। “म अलग तरिकाले आइसोलेसनमा बसेँ। जो छानिए पनि मेरै हो,” उनको भनाइ थियो। लामिछानेले पार्टीभित्र नयाँ र पुराना दुवै पुस्तालाई समान अवसर दिनुपर्ने उल्लेख गर्दै सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नपाउने कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारे।
उनले अन्त्यमा पार्टी सदस्यहरूलाई “सफलताको गीत गाउने कि परिणाम निकाल्ने?” भन्ने प्रश्न गर्दै पार्टीलाई व्यवहारिक उपलब्धितर्फ केन्द्रित हुन आग्रह गरे।







