‘शून्यबाट सिंहदरबारसम्म’ : रास्वपाको चार वर्षे यात्रामाथि रवि लामिछानेको समीक्षा (पूर्णपाठ)

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ‘शून्यबाट सिंहदरबारसम्म’ : रास्वपाको चार वर्षे यात्रामाथि रवि लामिछानेको समीक्षा (पूर्णपाठ)

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राबारे विस्तृत समीक्षा गरेका छन्।

‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा उनले आफूहरू राजनीतिमा किन प्रवेश गरे भन्ने प्रश्न नै पार्टीको मूल वैचारिक आधार रहेको उल्लेख गरेका छन्।

प्रतिवेदनअनुसार रास्वपा स्थापना गर्ने अधिकांश व्यक्तिहरू परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका थिएनन्। उनीहरू सञ्चार, विभिन्न पेसागत क्षेत्र तथा सामाजिक गतिविधिमार्फत राज्यलाई प्रश्न गर्ने र सुधारका लागि दबाब सिर्जना गर्ने प्रयासमा सक्रिय रहेको उल्लेख गरिएको छ।

तर समयसँगै राज्य संयन्त्रले नागरिकको आवाज सुन्न नचाहेको वा सुन्न नसक्ने अवस्था बनेको निष्कर्ष निकाल्दै परिवर्तनका लागि प्रणालीभित्रै प्रवेश आवश्यक भएको महसुस गरेर राजनीतिक यात्रा सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले सत्ता केन्द्रित राजनीति, भ्रष्टाचार, जवाफदेहिताको कमी, अवसरवाद र बिचौलियाको प्रभावले लोकतान्त्रिक अभ्यास कमजोर बनेको दाबी गरेका छन्। प्रतिवेदनमा लोकतन्त्रलाई ‘नेतातन्त्रले चपाइरहेको’ र नेतातन्त्रलाई ‘बिचौलियाले सञ्चालन गरिरहेको’ टिप्पणी गर्दै रास्वपाले प्रणाली सुधार, पुनःसंरचना र शुद्धीकरणलाई आफ्नो मूल लक्ष्य बनाएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा ‘नयाँ शक्ति’ र ‘विवेकशील’ जस्ता अभियानले राजनीतिक बहस सिर्जना गरे पनि संरचनागत परिवर्तनमा अपेक्षित सफलता हासिल गर्न नसकेको मूल्यांकन गरिएको छ। साथै, काठमाडौं महानगरपालिकामा बालेन शाहको जितपछि परम्परागत दलप्रति जनअसन्तुष्टि खुला रूपमा देखिएको र वैकल्पिक राजनीतिक शक्तिका लागि वातावरण बनेको विश्लेषण गरिएको छ।

रास्वपा स्थापना गर्दा व्यापक अविश्वास, आलोचना र उपहासको सामना गर्नुपरेको उल्लेख गर्दै लामिछानेले सुरुआती चरणमा सदस्य बन्न र नेतृत्व लिनसमेत धेरै व्यक्ति तयार नभएको बताएका छन्।

प्रतिवेदनमा जनतामा परिवर्तनको चाहना भए पनि समाजका प्रभावशाली समूह, बुद्धिजीवी, सञ्चारकर्मी र सार्वजनिक व्यक्तित्वहरू वैकल्पिक राजनीतिक अभियानप्रति सुरुआती चरणमा सकारात्मक नरहेको दाबी गरिएको छ। प्रतिवेदनको निष्कर्षमा परिवर्तनका लागि नागरिकको चाहना र राजनीतिक विकल्प निर्माणको आवश्यकता प्रमुख आधार बनेको उल्लेख गरिएको छ ।