रास्वपाका विदेशस्थित प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्न पाउने
Prime TV News ३ हप्ता अगाडि 
चितवनमा । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ।
महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि डिजिटल मतदान प्रणाली लागू गरिएको हो। पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधित्व गर्ने १६३ जनालाई मोबाइल एपमार्फत मतदान गर्न मिल्ने व्यवस्था मिलाइएको छ।
यसले विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिहरूले भने विद्युतीय भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गर्नेछन्। त्यसका लागि ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ।
पार्टीले प्रविधिमैत्री मतदान प्रणालीमार्फत महाधिवेशनलाई सहज, छरितो र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ। विदेश र स्वदेश दुवैबाट हुने मतदानलाई एकीकृत गर्दै परिणाम छिटो सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।







