कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी कार्यतालिकाअनुसार विभिन्न सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेभित्र सम्पन्न गरिनेछ।
कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि सोही मितिभित्र टुंग्याइने कांग्रेसले जनाएको छ।
त्यसैगरी, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका सदस्यता अद्यावधिक तथा नयाँ वितरण र पार्टीसँग समाहित भएका तथा प्रवेश गरेका सदस्यहरूको विवरण व्यवस्थापनको काम पनि असार २० गतेभित्रै सम्पन्न गरिने भएको छ। पार्टीले अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने प्रक्रिया भने असार महिनाभर सञ्चालन गरिने जनाएको छ।
विशेष महाधिवेशनपछि सदस्यता प्रणालीलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यसहित कांग्रेसले अनलाइन प्रणालीमार्फत क्रियाशील सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ। पार्टी नेतृत्वका अनुसार यसले सदस्यता व्यवस्थापनलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउन सहयोग गर्नेछ।
पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिँदै आएका विवादका बीच आएको यो नयाँ कार्यतालिकालाई आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। कांग्रेसले निर्धारित समयमै सबै प्रक्रिया सम्पन्न गर्दै १५औँ महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउने लक्ष्य लिएको छ।







